दफा ११
न्यूनतम पारिश्रमिक निर्धारण समिति
(१) श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकता अनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्नको लागि देहायका सदस्यहरू भएको एक न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन हुनेछः–
(क) सञ्चारको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति – अध्यक्ष
(ख)   प्रतिनिधि¸ (राजपत्रांकित प्रथम श्रेणी) सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय -सदस्य
(ग)    प्रतिनिधि¸ (राजपत्रांकित प्रथम श्रेणी) श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय -सदस्य
(घ) नेपाल पत्रकार महासंघको सभापति – सदस्य
(ङ) श्रमजीवी पत्रकारहरूमध्येबाट कम्तीमा एकजना महिला रहने गरी नेपाल पत्रकार महासंघले तोकेका तीनजना – सदस्य
(च) व्यवस्थापकहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेका तीनजना – सदस्य
(छ) कर्मचारी वा कामदारमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना – सदस्य
(ज) श्रम तथा अर्थ सम्बन्धी विशेषज्ञहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना – सदस्य
(झ) प्रेस रजिष्ट्रार – सदस्य–सचिव
(२) समितिको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(४) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।